देश

काठमाडौं भित्रिँदै गरेको १२ किलो चरेशसहित ३ जना पक्राउ

हेटौँडा, १९ साउन-मकवानपुर प्रहरीले थाहा नगरपालिकाको खर्कबाट ठूलो परिमाणमा चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । थाहा नगरको चित्लाङबाट काठमाडौं उपत्यका निस्किने क्रममा चन्द्रागिरी नगरपालिका जाँदै गरेको प्रदेश नं. ३–०३–००१ ह ०२५९ नम्बरको अटोलाई आइतबार बिहान करिब साढे ६ बजे जाँच गर्दा १२ किलो ९ सय ३२ ग्राम लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

थाहा–०७ खर्कस्थित सडक खण्डमा प्रहरीलाई देखेपछि अटो छोडेर तस्कर भागेको जनाइएको छ । प्रहरीले चरेश ओसारपसालमा संलग्न रहेको आरोपमा खर्क बस्ने ३० वर्षीय शुभराज घलान, एउटै वडाको छापटोल र फेदीगाउँ देउराली बस्ने क्रमशः ३३ वर्षीय नारायण सिं मुक्तान र ४७ वर्षीय कृष्ण बहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङ अटो चालक हुन् ।

तीनै आरोपीलाई लागुऔषधको कुसुरमा मुद्दा दायर गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

Featured