खेलकुद देश

सीपीएल खेल्न ट्रिनिडाड एन्ड टोबागो पुगेका सन्दीप १४ दिने क्वारेन्टाइनमा

काठमाडौं, १९ साउन-क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो ।

सीपीएल आगामी भदौ २ गतेदेखि सुरु हुँदै छ । ‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टाइनमा बस्नुपरेको हो’, उनका व्यवस्थापक रमन शिवाकोटीले भने । यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनुपर्ने उनले बताए । ‘पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ’, उनले भने ।

सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । सरकार र अन्य विभिन्न निकायको सहयोगमा उनी टोबागो जान सफल भए । टोबागो उड्नुअघि सन्दीपले गत मङ्गलबार पीसीआर परीक्षण गराएका थिए । उनको सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको व्यवस्थापक शिवाकोटीले बताए । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी १ भदौदेखि मात्र खोल्ने निर्णय गरेका कारण केही समय सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो ।

सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका हुन् । उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट सीपीएल खेलेका थिए । त्यसका लागि उनलाई ५ हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उक्त प्रतियोगितामा उनले ५ खेलमा सात विकेट लिएका थिए ।

Featured