देश सूचना/ प्रबिधि

डिशहोमले सुरु गर्‍याे फाइबर टू दी होम इन्टरनेट सेवा

काठमाडौं, १९ साउन-गएको माघमा मात्र नेपाल दूरसञ्चार प्राधिरकरणबाट इन्टरनेट सेवाको अनुमति प्राप्त गरेको डिश मिडिया नेटवर्क लिमिटेड आक्रामक बजार विस्तारको रणनीति लिएर विभिन्न सेवाहरू सञ्चालनमा ल्याएकाे छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवा सहज रूपमा पुर्‍याउने उद्देश्यले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ ।

कम्पनीका अनुसार सुरुवाती चरणमा याे सेवा तीन स्थानमा सेवा विस्तार गरिएको छ । ‘हामीले भैँसीपाटी क्षेत्र, तीनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध क्षेत्रमा इन्टरनेट सेवा सुरु गरिसकेका छौँ,’ कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘भैँसेपाटी र कपन एरियामा आफ्नै फाइबर विस्तार गरी सेवा प्रवाह गरिरहेका छौँ ।’

उनले तीनकुने–बानेश्वर क्षेत्रमा भने स्पेस टाइम्स नेटवर्क (कम्पनीकै अर्को संस्था सिम टीभी) को मुख्य कम्पनीसँग सहकार्य गरी फाइबर इन्टरनेट दिन थालेकाे जानकारी दिए ।

कम्पनीले अबको एक महिनाभित्र कम्पनीले इन्टरनेट प्रयोगकर्ताको संख्या १२ हजारको हाराहारीमा पुर्‍याउने लक्ष्य लिएको छ । कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोडबाहिर सेवा विस्तार गरिसक्ने योजनाका साथ काम गरिरहेको आचार्यले बताए । आचार्यका अनुसार कम्पनीकाे पहिलो योजना रिङरोडभन्दा बाहिर सेवा विस्तार गर्ने र त्यसपछि रिङरोडभित्र प्रवेश गर्ने भन्ने हो ।

चक्रपथभित्र सेवा विस्तार गर्दा एकै पटक ठूलो मात्रामा सेवा विस्तार गर्ने योजना रहेकाे कम्पनीले जनाएकाे छ । सुरुमा बाहिर सेवा विस्तार गरेर आधार तयार पार्दा सहज हुने अपेक्षाका साथ यस्तो खालको रणनीति बनाइएको कम्पनीकाे भनाइ छ ।

अर्कोतर्फ स्याटेलाइट इन्टरनेटलाई पनि विकल्पको रूपमा अघि बढाउने कम्पनीले जनाएको छ । गाउँगाउँमा फाइबर विस्तार गरी सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने गरी थालेको हो ।

आचार्यका अनुसार स्याटेलाइट इन्टरनेट नयाँ प्रविधि भएकाले सबै सामान बाहिरबाटै खरिद गर्नुपर्ने हुन्छ । तर, कोरोनाका कारण आवश्यक सामान नेपाल आउन नपाएकाले अहिले फाइबर इन्टरनेटबाट सेवा सुरु गरिएको हाे । उनी भन्छन्, ‘चाँडै नै स्याटेलाइट इन्टरनेटको काम पनि सुरु गर्न सकिने लक्ष्य लिएका छौँ ।’