देश

सिंहदरबारभित्र मृत भेटिएका नायब सुब्बाको ‘सुसाइड नोट’ भेटियो

काठमाडौं, भदौ ३-मंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सुसाइड नोट फेला परेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सुसाइड नोट भेटिएको पुष्टि गरे।

कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सुसाइड नोटमा ‘कसैलाई दोष नदिनु’ भनेर लेखेको डीएसपी बुढाथोकीले बताए। सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ। साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ।

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा समेत भेटिएको छ। आयोगका कर्मचारीले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

केसीको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाउन तयारी भइरहेको प्रहरीले जनाएको छ।