देश

भीमफेदी जेलबाट फरार कैदी ९ महिनापछि पक्राउ

हेटौँडा, १८ साउन-मकवानपुरको भीमफेदी कारागारबाट फरार कैदी सुनसरीका कुलदीपराज धामी ९ महिनापछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका सुुनसनीको रामधुरी नगरपालिका–७ घर भएका २५ वर्षीय धामीलाई १६ साउन शुक्रबार मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले कञ्चनपुरबाट चितवनतर्फ आउँदै गर्दा नवलपरासीको देवचुली नगरपालिका–१६ रजहरबाट पक्राउ गरेको हो ।

धामीले रामधुनीकै २१ वर्षीय रोजिन गुरूङको हत्या गरेका थिए । उनी भीमफेदी कारागारबाट ३० कार्तिक २०७६ मा भागेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिएका छन् ।

राठौरका अनुसार धामी कारागारमा ५ वर्षदेखि कैद भुक्तान गरिरहेका थिए । ‘कारागारको पर्खाल नाघेर भागेका थिए । कारागारबाट भागेदेखि नै हामीले निरन्तर खोजी गरिरहेका थियौं । ९ महिनापछि उनलाई शुक्रबार पक्राउ गर्न सफल भएका छौं,’ राठौरले भने ।
धामीलाई आज आइतबार भीमफेदी कारागार चलान गरिएको छ । उनी कारागारका सहनाइकेसमेत थिए ।