देश

गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमित थपिए

काठमाडौं, १८ साउन-गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एक जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित स्याङजाको वालिङका ५ जना पुरुष  र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना छन् । यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका एक जना पुरुष छन् ।

लमजुङको दोर्दीका एक जना र सुन्दर बजारका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता तनहुँको म्याग्दे र आबुखैरेनीका १–१ जना पुरूष र बागलुङ नगरपालिकाकै एक पुरुष छन् ।

योसँगै गण्डकीमा  कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५०५ जना पुगेको छ । गण्डकीमा हालसम्म १ हजार २४५ जना डिस्चार्ज भएर घर गइसकेका छन् ।