देश राजनीति

आफ्नो स्वार्थका लागि ओली–प्रचण्डलाई लडाउने काम नगरौँ : कर्ण थापा

काठमाडौं, १८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसमा लडाउने काम नगर्न अनुरोध गरेका छन् ।

केन्द्रीय सदस्य थापाले अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटाउने पहल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

‘नेकपाका मूल नेता केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) लाई एकतावद्ध बनाउन सबैको पहल आवश्यक छ,’ थापाले भनेका छन, ‘कम्तीमा पनि उहाँहरूलाई लडाएर आफ्नो स्वार्थसिद्ध गर्ने काम मात्रै नगर्ने हो भने पार्टी एकतावद्ध भएर राष्ट्र निर्माणको अभियानको नेतृत्व गर्न सक्षम हुनेछ ।’  विगतमा पनि नेताहरू बीचमा प्रतिष्ठाको विषय बन्न जाँदा पार्टी विभाजन भएको उल्लेख गर्दै थापाले सो आग्रह गरेका हुन् ।