देश

बाँकेमा आजदेखि ३ दिन निषेधाज्ञा

बाँके, १८ साउन-कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि ३ दिनसम्म निषेधाज्ञा जारी गरेको छ  । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले ३ दिनसम्म पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

कोरोनाको जोखिम हुन नदिन ३ दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार अत्यावश्यकीय कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यक रूपमा हिँडडुल गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहाेरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा भने सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल र कूटनीतिक नियोगका सवारीसाधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन् ।

पछिल्लो पटक संक्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४ सय २३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।

आन्तरिक राजस्व, यातायात व्यवस्था कार्यालयका कर्मचारी र ब्यस्त रहने त्रिभुवनचोकको एक मिठाई पसल सञ्चालकमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जका ३ आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ संक्रमितलाई राखिएको छ । बाँकेमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ सय ३७ पुगेको छ । रासस