देश

कोरोना पोजिटिभ देखिएका बुटवलका २ जना सम्पर्कविहीन

काठमाडौं, १७ साउन-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएका २ जना सम्पर्कविहीन भएका छन् । भारतबाट आएका उनीहरूले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए । शुक्रबार संकलन गरिएको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भए पनि उनीहरू भने अस्पतालको सम्पर्कबाहिर गएको बताइएको छ ।

स्वाब परीक्षण गर्दा बुटवल उपमहानगरपालिका-६ ठेगाना टिपाएका उनीहरूको अस्पतालमा दिएको मोबाइल नम्बरमा समेत सम्पर्क नहुने अस्पताल स्रोतले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले रिपोर्ट कोरोना पोजिटिभ आएपछि अस्पतालबाट गएको पहिलो फोन उठाए पनि रिपोर्ट पोजिटिभ आएको भन्नेबित्तिकै मोबाइल नलाग्ने बनाएको बताए । उनीहरूको खोजी भइरहेको बताइएको छ ।