देश

वीरगन्जमा कोरोनाबाट थप १ महिलाको मृत्यु

वीरगन्ज, साउन १७-वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज महनगरपालिका-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मधुमेह र उच्च रक्तचाप पीडित ती महिला निमोनियाको जस्तो लक्षण देखिएपछि १४ साउन अस्पतालमा भर्ना भएकी थिइन् । उनको हिजो १० बजेतिर उपचारका क्रममा मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्बाव संकलन गरिएको थियो । महिलाको मृत्यु भइसकेपछि पीसीआर रिर्पोट पोजिटिभ आएको हो । योसँगै पर्सा जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सख्या १४ पुगेको छ भने वीरगन्जमा कोरोनाका कारण अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।