देश राजनीति

सावधानीपूर्वक बकर ईद मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं, १७ साउन-राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९) को महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा) पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गरेकी छन् । 

बकर इदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । साथै, उनले सबैको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डरीको सन्देशमा भन्नुभएको छ, ‘बकर ईद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्यमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् ।’

राष्ट्रपति भण्डारीले मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।