देश राजनीति

विप्लवका रूपन्देही इन्चार्ज संगम पुनसहित १० जना कार्यकर्ता पक्राउ

बुटवल, १६ साउन-सरकारद्वारा प्रतिवन्दित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १० जना बढी कार्यकर्ता शुक्रबार बुटवलबाट गिरफ्तारमा परेका छन् । 

पार्टीका रूपन्देही इन्चार्ज तथा केन्द्रीय सदस्य संगम पुनसहित १० बढी कार्यकर्ता रूपन्देहीको बुटवलस्थित रानगञ्जबाट प्रहरीले गिरफ्तार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उक्त पार्टीका रूपन्देही इन्चार्ज तथा केन्द्रीय सदस्य संगम पुनसहित १० जनालाई पक्राउ गरेको जानकारी गराएको छ ।

रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले विप्लव नेतृत्व नेकपाका नेता तथा कार्यकर्ताले बुटवलमा प्रतिबन्धित गतिविधि गरेकाले पक्राउ गरिएको बताए । पक्राउ गरिएका रूपन्देही इन्चार्जसहितका सबैका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बुटवलको रानीगञ्जमा सुकुम्बासी समस्याबारे छलफल भइरहेको अवस्थामा प्रहरीले शुक्रबार दिउँसो साढे तीन बजेतिर सादा पोशाकका प्रहरीले अमानीय ढंगले पक्राउ गरेको सोही पार्टीका एक नेताले जानकारी गराए । सुकुम्बासीको पक्षमा आवाज उठाउँदा पनि दिनदाहाडै गिरफ्तार गरेर सरकारले सामान्य मानव अधिकारकोसमेत उल्लंघन गरेको सोही पार्टीका नेताहरूको भनाइ छ ।