देश राजनीति

हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो : रक्षामन्त्री पोखरेल

काठमाडौं, १६ साउन-उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरेका छन् । मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिणाम आउन नसक्ने बताए ।

अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर अगाडि बढ्नुपर्ने रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कार्यसम्पादनशैली ‘लकिरका फकिर’ जस्तो भयो । क्रिएटिभ ढंगले अगाडि बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन । क्रिएटिभ ढंगले जानु अहिलेको आवश्यकता हो र यसैअनुसार अगाडि बढ्न आग्रह गर्दछु । अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना बेलाबेला अपडेट गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरू आउटडेटेड हुन्छन् ।’ हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेट’ हुनैपर्ने उनले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरबका आयोजनाको प्रगति हुन नसकेको बताए । राष्ट्रिय गौरबका आयोजनाहरू आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उनले बताए । आयोजनाको काम अगाडि बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उनले बताए ।

शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रमसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै, प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा नेपाली सेनाअन्तर्गत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरूसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।