देश

शुक्रबार सुदूरपश्चिममा थप ११३ जनामा कोरोना पुष्टि

डडेल्धुरा, १६ साउन-सुदूरपश्चिमका थप १ सय १३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी १ सय १३ जनामा कोरोना पुष्टि भएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

उनका अनुुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालको प्रयोगशालामा आज मात्रै कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका २३ जना मध्ये धनगढीका मात्रै १६ जना छन् ।

पछिल्लो २४ घण्टामा गरिएको २ सय ७१ जनाको कोरोना परीक्षणमा ९ महिला र १७ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिकाका ८ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, कैलालीको टीकापुरका १ महिला र ६ पुरुष गरी ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।

बझाङको मष्टा–१ का २० वर्षीय पुरुष, छबिसपाथिभेरा गाउँपालिका–७ का ४२ वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय  २४ पुगेको छ । संक्रमण पुष्टि भएका ३ हजार ८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भइसकेको छ ।