देश

अघोषित लोडसेडिङको मारमा विराटनगरवासी, उद्योगहरुमा दैनिक करोडौँको घाटा

विराटनगर, भदौ २
अघोषित लोडसेडिङले विराटनगरवासी हैरान बनेका छन् । विना जानकारी जुनसुकै समयमा नेपाल विद्युत प्राधिकारणले दैनिक दर्जनौँ पटक लाइन काट्ने गरेका कारण प्रदेश नं. १ को स्थायी राजधानी रहेको विराटनगर महानगरका जनता मारमा पर्दै आएका हुन् ।

विद्युत प्राधिकरणले पटक पटक लाइन काट्ने गरेपछी सर्वसाधारण आक्रोशित बन्दै गएका छन् । अघोषित लोडसेडिङले जनजिवन, उद्योग, व्यापार व्यवसायलगायत सवै क्षेत्रमा प्रभाव परेका छ ।

नियमित विद्युत आपुर्ती हुँदा समेत लो भोल्टेजले सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । नेपाल विद्युतप्राधिकारणले मुलुक लोडसेडिङ मुक्त भएको बताइरहँदा विराटनगर तथा सुनसरी मोरङ औद्योगिक करिडोरमा दैनिक १५ पटक भन्दा बढी लाईन काटिने गरेको सरोकारवालाहरुको गुनासो छ ।

अघोषित लोडसेडिङकै कारण विद्युतसँग सम्बन्धीत काम गर्नेहरुको रोजिरोटी समेत गुम्दै गएको छ । विराटनगर वडा नं. ७ का एस के एस मोवाइल पसलका सञ्चालक दिपककुमार शाहले दिनहुँको अघोषित लोडसेडिङले हैरान बनाएको बताए । उनले भने,‘दिनभरि कतिबेला लाइन आउँछ , कतिवेला जान्छ पत्तो हुँदैन । जतिबेला पनि झ्याप्प, झ्याप्प काटि दिन्छ । हाम्रो रोजी रोटीनै लाइनबाट चलेको छ । यएक त सरकारले रोजगारी दिँदैन, आफै ग¥यो लाइनको यो हालत छ । लाइन आएपनी भोल्टेजनै आउँदैन । लाइन छिन् छिन्मा काटिइ रहन्छ ।’

त्यसै विराटनगर–७ कै सरोज शाहले पनि विद्युत प्राधिकरणले दैनिक दर्जनौँ पटक लाईन कटौती गर्ने गरेको बताए । उनले भने,‘देश लोडसेडिङ मुक्त रे । के को मुक्त ? यत्रो लाइन किन काटिएको ? यदि त्यस्तो हो भने लाइन काटिने जानकारी हामीलाई दिनुपर्छकि पर्दैन ? विना सुचना लाइन काट्ने ? कुनदिन रिस उठे विजुलि अफिसमै गएर आगो लगाइदिन्छु।’

शाहले प्राधिकरणको शुल्क नियमित बुझाउँदै आएकाले आफुहरुले सोही अनुसारको सेवा पाउनुपर्ने माग गरे । उनले विद्युत प्राधिकरणप्रति आक्रोशित हुँदै भने,‘हामीले पैसा तिरेको के का लागि ? त्यो अनुसारको सेवा दिनुपर्छकि पर्दैन । लाइन दिए पनि भोल्टेज आउँदैन । केही काम हुँदैन । अनि किन पैसा तिर्ने ?’

त्यस्तै विराटनगर वडा नं. १ का बासुदेव चौधरीले पनि आवश्यकताको वेला लाइन नहुने गरेको गुनासो गरे । उनले पनि दैनिक थुप्रैपटक लाइन काटिने गरेको बताउँदै आफुहरुलाई समस्या भएको बताए । उनले भने,‘पानी पर्दा शितल हुन्छ । त्योवेला लाइन पनि हुन्छ, भोल्टेजपनि हुन्छ । जतिवेला प्रचण्ड गर्मी हुन्छ लाइन काटिन्छ । यो तरिका त भएन । झ्याप्प, झ्याप्प लाइन जाँदा हाम्रो इलेक्ट्रोनिक्स सामानहरु प्नि विग्रीएको छ । यसको क्षतिपुर्ती दिनुपर्छ कि पदैन ?’

उनले.प्राधिकरणको ग्राहक सेवा केन्द्रमा पटक पटक फोन गर्दा समेत वास्ता गर्ने गरेको आरोप लगाए । उनले भने,‘कत्ति फोन गर्नु कहिले के भन्छ, कहिले के । हाम्रो समस्याको कुनै सुनवाई हुँदैन । हामीले घरमा प्रयोग गर्ने लाइन काटेर फ्क्ट्रीहरुलाई सप्लाई गर्छन् कि ? मलाई त त्यस्तै लाग्छ ।

अघोषित लोडसेडिङले उद्योगहरुमा दैनिक करोडौको घाटा
अघोषित लोडसेडिङ र लो भोल्टेजका कारण सुनसरी मोरङ औद्योगीक करिडोरका उद्योगहरुले दैनिक करोडौँको नोक्सानी व्यहार्नु परिरहेको गुनासो गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अघोषित लोडसेडिङले उत्पादनको प्रकृयामा रहेका कच्चा पदार्थ विग्रने गरेका कारण करोडौँको नोक्सानी हुने गरेको दावी गरे ।

‘दिनमा १५ देखि २० चोटि सम्म झ्यापझ्याप्ती लाइन काटिन्छ । यसले करोडौँको नोक्सानी हुँदै आएको छ ।’ उनले भने,‘एक त मेटेरियलहरु बिग्रीन्छ । जति भोल्टेज आउनुपर्ने हो त्यो अनुसार नआउदा मेसिनहरु चल्दैन । पावर नपुगेर धेरै मेटेरियलहरु नष्ट हुन्छ । प्रोडक्सन लस हुन्छ । झ्याप्प जाँदा मेसिनहरु ब्रेक डाउन हुने, क्वायलहरु जल्ने, ब्यारिङरु जाने भएकाले मेन्टेनेन्समा धेरैनै खर्च हुन्छ । गाउँ घरमै पनि स्वीचहरु डयामेज भएको छ ।’

उनले अघोषित लोडसेडिङले उद्योग कलकारखानालाई मात्र नभई आम नागरिकलाई नोक्सानी भइरहेको दावी गरे । उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले सस्तो लोकप्रियता मात्र कमाउन खोजेको आरोप लगाए । उनले भने,‘ सस्तो लोकप्रीयता कमाउन उहाँले मिडियामा विद्युत इन्डीयालाई बेच्न थालेँ भन्नुभाछ । यहाँ चाँही विद्युत आपुर्तीनै छैन । यसका लागि प्राधिकरणको व्यवस्थापन सुध्रिनुपर्छ ।’

त्यसतै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले पनि अघोषित लोडसेडिङले उद्योग मात्र नभई सवै क्षेत्रलाई असर पर्दै आएको बताए । उनले नियमित विद्युत आपुर्तीका लागि कटहरी स्थित सब स्टेशन सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले भने,‘उनले भने कटहरीको सब स्टेसशन चालु गर्नुपर्छ । अहिलेको यो लो भोल्टेज र अघोषित लोडसेडिङले उद्योग, व्यापार मात्र होइन अस्पताल लगायत सवै क्षेत्रमा समस्या उत्पन्न भएको छ ।’

विना कारण लाइन नकाटिएको विद्युत प्राधिकरणको दावी
यता नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले भने विनाकारण विद्युत कटौनी नगरिएको दावी गरेको छ । विराटनगर वितरण केन्द्रका निमित्त प्रमुख रविन्द्रकुमार दासले विना कारण विद्युत कटौती नगरिएको दावी गरे ।

उनले वेलावेलामा विभिन्न स्थानमा बिग्रीएर विद्युत आपुर्तीमा समस्या उत्पन्न हुनगरेकाले मर्मतका लागि विद्युत कटौती गर्नु परेको स्वीकार गरे । उनले भने,‘बिग्रीएको ठाउँमा मर्मत त गर्नै पर्छ । मर्मत गर्दा मात्र लाइन काटिएको हो, यसलाई अघोषित लोडसेडिङ मन्न मिल्दैन ।’ निमित्त प्रमुख दासले विराटनगरमा भइरहेको विकास निर्मााको कामले समेत विद्युत आपुर्तीमा समस्या उत्पन्न भइरहेको दावी गरे । उनले विद्युतको अत्याधिक खपतका कारण भोल्टेजमा समस्या आउने बताए ।