देश

शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम : प्रहरी महानिरीक्षक

पोखरा, भदौ ३–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अमनचयन कायम गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन्। महानिरीक्षक खनाले कुनैपनि आपराधिक गतिविधिमा संलग्न भए तत्कालै पक्राउ गरेर प्रहरी कठघरामा उभ्याउने चेतावनी दिए।

पोखरामा मंगलबार संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान नियन्त्रणमा नेपाल प्रहरी सक्षम रहेको दावी गरे।

उनले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताए। विगतमा मुस्कान सहितको सेवा भनिए पनि त्यो प्रभावकारी नभएको टिप्पणी गर्दै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रममा ल्याएको बताए।

सामुदायिक प्रहरीको नाममा प्रहरीलाई झाडु लगाउने काममा मात्र सीमित राख्न नहुने उनको भनाई छ। पोखरा पर्यटकीय केन्द्र रहेको बताउदै महानिरीक्षक खनालले पर्यटकीय क्षेत्र लेकसाइड चौबीसै घण्टा खुलाउनको लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी सक्षम रहेको बताए।

उनले चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन र रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गरी कार्वाही गर्न प्रहरीलाई निर्देशन दिए। २ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा संघीय प्रहरी इकाइ कार्यालय पोखराको साढे २ तले भवन (१६ कोठा) निर्माण गरिएको हो । यस भवनमा संघीय प्रहरी कार्यालयको साइबर अपराध अनुसन्धान, लागुऔषध लगायतका विभाग राख्ने छ । यस्तै ३ करोड २५ लाख लागतमा निर्माण हुने संघीय प्रहरी कार्यालयको व्यारेक भवनको खनालले शिलान्यास गरेका थिए ।