खेलकुद देश

राखेपको सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

काठमाडौं, साउन १२-राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो ।

उनी पदमुक्त भएको झन्डै ३ सातापछि सदस्य सचिव पुन: नियुक्त भएका हुन् । सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् । यसअघि उनलाई राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राखेपको सदस्यमा नियुक्त गरेका थिए । नयाँ नियम लागू भएपछि उनी पदमुक्त भएका थिए ।

२७ जनाले सदस्य सचिवका लागि आवेदन दिएकोमा निवर्तमान सदस्यसचिव सिलवालसहित ३ जना सिफारिस भएका थिए । उनीसहित महिला भलिबल राष्ट्रिय टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपा नेता लिलबहादुर थापालाई सदस्य सचिवका लागि मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।

राखेप सदस्यसचिव बन्न खुला आह्वान गरिएको यो पहिलोपटक हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि यस ऐनमा व्यवस्था भएअनुसार सदस्यसचिवमा सिलवाल चयन भएका हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् ।