देश

बाढीबारे भारतसँग गम्भीर कुरा गर्नुको विकल्प छैन : प्रचण्ड

जनकपुर, भदौ ३–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीबारे भारत सरकारसँग गम्भीर कुरा गर्नुको विकल्प नभएको बताएका छन् । धनुषा जिल्ला विपद व्यवस्थापन समितिको आठौं जिल्ला बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले बाढीले सीमा क्षेत्रका नेपालीलाई मात्रै नभई सीमा क्षेत्रका भारतीय पनि प्रभावित हुँदै आएकाले भारतसँग गम्भीर छलफल गर्न जरुरी रहेको बताए ।

तराई क्षेत्रमा बन्दै गरेका हुलाकी राजमार्ग, रेल्वे लाइनलगायतमा पर्याप्त पुल र कल्भर्ट निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘भारतीय सीमा क्षेत्रमा निर्माण भएका सडकमा निकास नभएका कारणा दुवै तर्फका नागरिक जोखिमपूर्ण बसोबास गर्न बाध्य छन्,’ उनले भने, ‘यसको दीर्घकालीन समाधानका लागि भारतसँग कुरा गर्नैपर्छ ।’

अध्यक्ष दाहालले बाढी, हावाहुरी, तातो हावा, शीतलहर र खडेरीको चपेटामा पर्दै आएको प्रदेश २ का आठ वटै जिल्लाका लागि प्रधानमन्त्रीको तर्फबाट छिट्टै राहत प्याकेज घोषणा हुने बताए । प्रदेश २ अन्नको भण्डार रहेकाले सुनकोशी(कमला डाइभर्सनबाट प्रदेश २ मा सिँचाइ सुविधा दिनसके सिङ्गो नेपाललाई पाल्ने र जलविद्युत, पर्यटन, माछापालन र कृषिमा जोड दिन सकिने उनले बताए ।

Featured