Uncategorized

समायोजनसँगै अस्पतालमा चिकित्सकको कमी

डडेल्धुरा, भदौ ३–समायोजनपछि चिकित्सक काममा नआउदा डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव देखिएको छ। अस्पतालको हालको सेवा सुविधा सञ्चालन गर्न नियमित १५ चिकित्सक आवश्यक पर्ने भए पनि डडेल्धुरा अस्पतालमा तीन जना मात्रै चिकित्सक रहेको अस्पताल स्रोतले जनाएको छ।

१२ चिकित्सक मध्ये आठ मेडिकल अधिकृत समायोजन भएर अन्यत्र गएपछि अस्पतालमा चिकित्सक न्यून हुँदा बिरामीलाई उपचारमा समस्या भएको छ । उपचारका लागि डडेल्धुरा पुगेका विरामी पनि पुनः तराईका जिल्ला धाउनुपर्ने बाध्यता रहेको उपचार गर्न धनगढी गएका बिरामी रमेश भण्डारीले बताए।

अस्पतालका १२ मेडिकल अधिकृतमध्ये आठ जना स्थानीय र प्रदेश सरकारमा समायोजन भएर गएको अस्पताले जनाएको छ । एक चिकित्सक एक महिनाको काज बिदामा रहेकाले अहिले अस्पतालमा तीन चिकित्सक मात्रै रहेको निमित्त मेडिकल सुपरिटेण्डेड डा. जितेन्द्र कँडेलले बताए ।

उनले समायोजन भएर चिकित्सक नआउदा बिरामीको उपचार गर्नका लागि समस्या भइरहेको बताए । यो समयमा अस्पतालमा मौसमी बिरामीको चाप पनि धेरै रहेको उनको भनाइ छ। सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्रका रुपमा यो अस्पताल रहेको छ । अस्पतालमा हाल दैनिक दुईरतीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । दाँत, हड्डी, पत्थरी, पेटसम्बन्धी र सुत्केरी हुन आउनेलाई बढी समस्या हुने गरेको बताइएको छ ।

सरकारले डडेल्धुरा अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ । विशेषज्ञसहितको सेवा दिने अस्पताल घोषण गरिएपनि चिकित्सकको अभावले यसक्षेत्रका बिरामीलाई समस्या भइरहेको नागरिक समाजका अध्यक्ष रमेश जोशीले गरे ।