विदेश

कोरियामा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि

एजेन्सी, साउन ८-दक्षिण कोरियाको अर्थतन्त्र चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ ।

भाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो । एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल-जून अवधिमा अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले खुम्चिएको छ ।

यसअघि एसियाली आर्थिक संकटको परिणामस्वरूप सन् १९९८ को चौथो त्रैमासिकमा करिब ३.८ प्रतिशतले कोरियाली अर्थतन्त्र खुम्चिएको थियो ।

साथै, त्रैमासिक विवरणअनुसार यसै वर्ष पनि ३.३ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको छ । यस्तो अवस्था विगत २० वर्षयता पहिलो पटक देखा परेको हो ।

दक्षिण कोरियामा चीनको मुख्य भूभागपछि पहिलो पटक कोरोना देखा परेको थियो । तर, कोरियाले बाध्यकारी लकडाउन कहिल्यै लगाएन, तर सामाजिक दूरी र मास्क लगाउने कार्यलाई बढावा दिनुका साथै स्वास्थ्य परीक्षणलाई व्यापक बनाएको थियो । कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरे पनि कोरियाली अर्थतन्त्रलाई विश्व परिदृश्यले असर पारेको देखिएको छ ।

कोरियाको अर्थतन्त्र मुख्य रूपमा व्यापार-निर्भर छ । दोस्रो त्रैमासिक अवधिमा कोरियाको निर्यात व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६ प्रतिशतले घटेको छ ।

बैंक अफ जापानका अनुसार कोरियाबाट मोटर र कोइला एवं पेट्रोलियम उत्पादनहरूको निर्यात घटेकाले पनि अर्थतन्त्रमा असर परेको हो । गत मे महिनामा बैंकले गरेको प्रक्षेपणमा सन् २०२० मा कोरियाली अर्थतन्त्र ०.२ प्रतिशतले खस्कने उल्लेख थियो ।

अन्तर्राष्ट्रिय मुद्राकोषले गत महिना दक्षिण कोरियाको वृद्धि प्रक्षेपणलाई घटाउँदै यस वर्ष वृद्धिदर २.१ प्रतिशत रहने जनाएको थियो । विश्वका समुन्नत मुलुकको अर्थतन्त्र भने झण्डै ८ प्रतिशतले खुम्चने मुद्राकोषको अनुमान छ ।

Featured