देश राजनीति

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौं, भदौ ३-प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन्।

बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए। चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन्। ओलीले आजको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने अपेक्षा छ।

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन। खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ।

Featured