देश

प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुर, भदौ २–प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागि निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै कसैको दबाब र प्रभावमा नपर्न निर्देशन दिएका हुन् ।

शान्ति सुरक्षाबिना प्रदेशको समृद्धि सम्भव नरहेकोले प्रदेश सरकार सुरक्षा व्यवस्थाप्रति संवदनशील रहेको दाबी गर्दै उनले प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीहरुमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिबद्धता समेत जनाए ।

प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्रीहरु मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रधुम्नकुमार कार्कीलाई हस्तान्तरण गरे । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन कुनै कमि नराखिने बताए ।

Featured