देश

साइकल यात्री श्रेष्ठलाई पोखरेलीको सम्मान

पोखरा, भदौ २– ‘भ्रष्टाचारमुक्त समाज निर्माण गरौं, पर्यटन प्रवर्धन गरौं’ भन्दै देशव्यापी रुपमा साइकल यात्रामा निस्केका कर्ण श्रेष्ठलाई पोखरामा सम्मान गरिएको छ । १८०औं विश्व फोटोग्राफर दिवसका अवसरमा फोटो ग्राफर संघ गण्डकी प्रदेशले साइकल यात्री श्रेष्ठलाई यात्राको सफलताको कामना गर्दै सम्मान गरेको हो ।

साइकल यात्री श्रेष्ठलाई पोखरा उद्योग वाणिज्य संघका सदस्य रामेश्वर अधिकारी, फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ, संघका अध्यक्ष दुर्गाप्रसाद पौडेल, महासचिव तुल्सी प्रसाद सुवेदीलगायतले खादा ओढाएर सम्मान गरे ।

संघले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै साइकल यात्री श्रेष्ठले उक्त सम्मानले आफूलाई थप हौसला मिलेको बताए । ४०औं जिल्लाको रुपमा कास्की आएका साइकल यात्री श्रेष्ठले देशभरका ७७ जिल्ला अबको दुई महिनामा भ्रमण तथा अध्ययन अवलोकन गर्ने लक्ष्य लिएको बताए । खोटाङ दित्तेलका ३४ वर्षीय युवा श्रेष्ठ खोटाङको दिक्तेलबाट चैत ३ गतेदेखि साइकल यात्रामा निस्किएका हुन् । साइकल यात्रामा दैनिक २ हजार खर्च हुने उनले बताए ।

Featured