काठमाडौं, भदौ २-एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ।
सोमबार भएको खेलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित भएको हो। पाँच सेटको खेलमा नेपाललाई किर्गिस्तानले २३–२५, २२–२५ तथा २३–२५ को सोझो सेटमा पराजित गरेको हो।
किर्गिस्तान यस प्रतियोगिताको एक पटकको विजेता हो भने एकपटकको उपविजेता हो।
ललितपुर लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा प्रतियोगिता आयोजना भइरहेको छ। यस भलिबल प्रतियोगिताको उद्घाटन सोमबार नै भएको हो।
मध्य एसियाका देशहरुले सहभागिता जनाउने एभीसी सेन्ट्रल जोन भलिबल नेपालले आयोजना गरेकाे हालसम्मकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता हो।
नेपालले अब बुधबार माल्दिभ्सको सामना गर्नेछ। समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र किर्गिस्तान छन्।
यस्तै समूह ‘बी’ मा साविकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्। प्रतियोगिता भदौ ७ गतेसम्म संचालन हुनेछ।
नेपालले तीनवर्ष अघि माल्दिभ्समा भएको यही च्याम्पियनसिपमा काँस्य पदक जितेको थियो। नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एकमात्र पदक हो।
प्रतियोगिताका लागि नेपालले नेदरल्याण्डका प्रशिक्षक हान एबिङलाई असार पहिलो साता झिकाएर तयारी थालेको हो।
इमबहादुर रानाको कप्तानीमा रहेको नेपाली टोलीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन्।
प्रतिक्रिया दिनुहोस