देश

यूएईबाट नेपाल फर्किन चाहनेको संख्या ४५ हजार

काठमाडौं, २९ असार-यूएईबाट ४५ हजार नेपाली स्वदेश फर्कन नाम दर्ता गराएका छन् । कोरोनाका कारण जागिर गुमाएका, रोजगारदाता भागेपछि अलपत्र परेका, अध्ययन तथा घुम्न आएका गरी करिब ४५ हजार नेपालीले स्वदेश फर्कनका लागि आफ्नो नाम दर्ता गराएको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले आइतबार तेस्रो चरणमा ३८ हजार ९ सय ९१ जना स्वदेश फर्कन नाम दर्ता गराएका नेपालीको नामावली सार्वजनिक गरेको छ ।यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो । दूतावासले ४ सय १० जनालाई पहिलो प्राथमिकतामा राखेर १७ हजार ३ सय ७५ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको थियो ।

दूतावासले आइतबार सूचना निकालेर अहिलेसम्म ५ हजार ८ सय ५९ जना नेपाल फर्किएको जनाएको छ । दुई चरणमा गरेर ३५ वटा उडान भएका छन् । दुई चरणमा गरी भएका ३५ उडानमार्फत प्राथमिकतामा परेका नेपाली स्वदेश फर्किएका छन् ।

गत अप्रिल २८ देखि नेपाल फर्किन चाहनेका लागि दूतावासले अनलाइन फारम भरेर आफ्नो विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरेको थियो ।

तर पछिल्लो समय यूएईको अवस्था सुधार हुँदै गएको र नेपालमा कोरोनाको सङ्क्रमण बढेकाले यसअघि फर्किन चाहनेले पनि अहिले नफर्किने निर्णय गर्न थालेको दूतावासले जनाएको छ ।

Featured