देश

मयुर यातायातले उपत्यकामा दिन थाल्याे सेवा

काठमाडौं, २९ असार-मयुर यातायातले काठमाडौँ उपत्यकाको रिङ रोडमा बस सञ्चालन गर्न थालेको छ । सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउन अनुमति दिए पनि यातायात व्यवसायीहरूले नै विभिन्न माग राख्दै तत्कालका लागि गाडी नचलाउने निर्णय गरेका थिए ।

तर मयुर यातायातले भने सार्वजनिक गाडी गुडाइरहेको छ । मयुर यातायातका अनुसार फाट्टफुट्ट रूपमा गाडी सञ्चालनमा यसअगाडि नै ल्याइसकेको छ । तथापि आज ३ वटा गाडी थप गरेको हो ।

सोमबार बाट ६ वटा सार्वजनिक गाडी सञ्चालनमा ल्याएको मयुर यातायातले २ रूटमा गाडी सञ्चालन गर्नेछ । कम्पनीका अनुसार काठमाडाैं उपत्यकाका रिङरोड र काठमाडौँ–पनौती सडक खण्डमा गाडी सञ्चालन गरिएकाे हाे ।

फाट्टफुट्ट रूपमा चले पनि क्रमश: गाडी पुरानै संख्यामा चलाउँदै लैजाने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले खासै यात्रु नपाए पनि एक सिटमा एक जना मात्रै बस्ने गरी गाडी सञ्चालन गरेको जनाएको छ ।

कम्पनीले सरकारको नियमभित्र रहेर नै गाडी चलाएको दाबी गरिरहँदा यातायात संघ भने अझै गाडी चलाउन असमर्थ रहेको भन्दै सरकारसामु मागहरू तेर्स्याएकाे बसेको छ ।

Featured