देश

टुकुचा खोलाको संरचनालाई प्राकृतिक रूप दिइने, छुट्याइयो २० करोड बजेट

काठमाडौं, २९ असार-सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लानअनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए । उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए ।

मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रूप दिने गरि काम हुने स्पस्ट पारे । उनले टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताए ।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताए ।

उनले बागमती प्रदेशका सांसद केशब स्थापितले सांसद विकास कोषबाट डेमोस्ट्रेसन गरेको र त्यसलाई हेरेर एडीबीको सहयोगमा डीपीआर तयार गर्ने विषयमा छलफल भइरहेको बताए ।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीय पनि उत्साहित भएका छन् । खोलामा बढ्दै गएको प्रदूषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरूले पनि सहयोग गर्ने स्थानीयले बताएका छन् ।

स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफूहरूको पूर्ण सहयोग रहने बताए । खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीआरलाई अन्तिम रूप दिइने भएको छ ।

सुन्दर सहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालीन योजनासहित काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ ।

Featured