म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप १ जनाको शव भेटिएको छ । मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरी, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।
प्रहरीका अनुसार बेपत्ता भएका ३ जना जीवितै सम्पर्कमा आएका छन । ४ जना अझै बेपत्ता छन् । मराङका १९, मालिका-७ बिमका आठ र रघुगङ्गा-६ ठाडाखानीका एक जनाको शव भेटिएको छ ।
पहिरोले पुरिएका मालिका-७ बिमकी एलिसा केसी, धवलागिरि-६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका-६ की गीता रोका भेटिएका छैनन् ।
प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५ सय ९०, मालिकाका १ सय ९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टोरबाट उद्धार गरिएकामा ७ जनाको बेनी अस्पताल, १ जनाको काठमाडौं र चार जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस