देश

कन्ट्याक ट्रेसिङका क्रममा पोखराको विरौटाका २ जनामा देखियो कोरोना

पोखरा, २७ असार-पोखरामा २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । केही दिन पहिले पोखरा महानगरपालिका –१७ बिरौटामा कोरोना संक्रमण देखिएका ५३ वर्षे पुरुषको कन्ट्याक ट्रेसिङमा रहेका २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरू २५ र ८९ वर्षका पुरुष रहेका छन् ।

गत हप्ता कोरोना संक्रमण देखिएका ५३ वर्षीय अडिटरको कन्ट्याक ट्रेसिङमा आएका १३ जनाको स्वाबको नमूना परीक्षणका क्रममा २ जनामा कोरोना पुष्टि भएको हो ।

पोखरामा ७० जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ३६ जनालाई निको भएर घर फर्किएका छन् । कास्की जिल्लामा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

गण्डकी प्रदेशमा शनिबार १४ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । गण्डकीमा संक्रमित संख्या १ हजार १ सय ७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा २ सय ६७ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ३९ नमुना परीक्षण भएकोमा पोखराका २ जनासहित तनहुँका ४, बागलुङ र स्याङ्जाका ३–३ र म्याग्दीका २ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

प्रदेशमा हालसम्म १९ हजार ७ सय ३२ नमुना संकलन भएको छ । संक्रमित १ हजार १ सय ७६ जनामध्ये ६ सय ३३ जना निको भएका छन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङका १, गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ बर्षिय १ पुरुषको रहेका छन् ।

Featured