देश

रुद्रमती नदीमा फोहाेर फाल्नेबाट २३ हजार जरिमाना

काठमाडौं, २७ असार-सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहोर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहोर फाल्न संलग्न हुने जतिबाट २३ हजार जरिमाना गराएको छ ।

काठमाडौं महानगरपालिका-२९ स्थित सेतोपुलमुनि फोहोर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि ३ दिनसम्म खोजी गरी फोहोर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारबाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

भिडियोमा फोहोर फालिरहेको रिक्साको नं २४३ र फोन नं देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सकिएको उनले सुनाए ।

‘कानुनी व्यवस्थाअनुसार जरिमानासहित सार्वजनिक अपराधको मुद्दामा पठाउन लागेका थियौँ, एकपटकलाई जरिमानासहित अब आइन्दा सार्वजनिक स्थानमा फोहाेर नफाल्ने प्रतिबद्धतासहित फोहाेर फाल्न लगाउने घरधनी रहिम मोहद्दिनलाई रु १५ हजार जरिमाना गरिएको छ,’ अभियानकर्मी गिरीले भने ।

Featured