देश

गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं, भदौ २-प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति असन्तुष्टि जनाएका छन्। एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैंडालाई गैंडा नै भन्नु पर्ने जिकिर गरे।

सम्मेलनमा सहभागी करिब चार सय विदेशी पाहुना अगाडि प्रधानमन्त्रीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज।’ प्रधानमन्त्री ओलीले सगरमाथालाई पनि ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिनसमेत आग्रह गरे।

कार्यक्रममा ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि कनेक्टिभिटीको ठूलो महत्त्व रहेको बताए। नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएकोसमेत उल्लेख गरे।

सोमबारदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।