देश

जिल्लास्तरीय सीएमसीको संरचनामा स्वास्थ्य प्रमुखलाई समावेश गर्ने निर्णय

काठमाडौं, २६ असार-कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले प्रदेश र जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरूलाई समावेस गर्ने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सम्बन्धित स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई समावेस गर्ने निर्णय गरेको छ । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले प्रदेश र जिल्लास्तरीय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको बताए ।

यस्तै, बैठकमा अहिलेसम्म तेस्रो मुलुक र भारतबाट आउने व्यक्तिहरूको वस्तुस्थितिको बारेमा छलफल भएको थियो । विदेशबाट आउने व्यक्तिको व्यवस्थापन व्यवस्थित गर्न र समन्वय गर्न काठमाडौं उपत्यकाको हकमा नगरपालिकाको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बैठकमा आमन्त्रण गर्ने निर्णय भएको समेत सचिव गुरागाईंले बताए ।

नेपालमा लगानी गरेका लगानीकर्ता वा तिनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका वयवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरूलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णयसमेत बैठकले गरेको छ ।

यस्तै, जुलाई १२ तारिकसम्म उद्दारका उडानहरू भइराखेकोमा १ हप्तासम्मको उडानका तालिकाहरू स्वास्थ्य, तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर उडान तालिका प्रकाशन गर्ने निर्णय भएको सचिव गुरागाईंले बताए ।

Featured