देश

सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा बस्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुर, २६ असार-बाढी-पहिरोबाट प्रदेश-२ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको ८ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्यूनीकरणका लागि तैयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

जोखिम न्यूनीकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरूले गरेको तयारीबारे मुख्यमन्त्री राउतले जानकारी लिएका थिए । उनले जोखिम न्यूनीकरणको लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्नसमेत सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिए ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।

विपद् व्यवस्थापनका लागि प्रदेश सरकार गत वर्षमा कुनै काम नगर्न सकेकोमा सरकारको विपक्षी दलहरूले व्यापक आलोचना गरिरहेको छ । प्रदेश २ मा नेपाली कांग्रेसका सांसद सरस्वती चौधरीले प्रदेश सरकारका मन्त्रीहरू आफ्ना नातेदार र पार्टी कार्यकर्ता बाहेकको कुनै कार्य नगरेको आरोप लगाएकी छन् । बाढीले ताण्डव देखाउन थालेपछि मात्रै जागेको उनको भनाइ छ ।

Featured