देश

हेटौंडा–काठमाडौं सडकमा आधा दर्जन ठाउँमा पहिरो 

हेटौंडा, २६ असार-हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकमा पहिरो जाँदा अवरुद्ध भएको छ । छोटोमार्ग अन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डको ६ ठाउँमा पहिरो खसेको छ ।

बिहीवार साँझदेखि परेको वर्षाले सो सडकखण्डमा आधा दर्जन पहिरो खसेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । भीमफेदीको जुरिखेत, चिसापानी गढीलगायतका ३ ठाउँमा ठूलो पहिरो गएको छ ।

श्रेष्ठका अनुसार अन्य ठाउँमा सानो पहिरो खसेको छ । पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । प्रदेश यातायात पूर्वाधान निर्देशनालयले भीमफेदी–कुलेखानी सडक फराकिलो पार्ने काम गरिरहेको छ । सडक निर्माणको क्रममा कटिङ गर्दा सामान्य वर्षा हुँदासमेत यहाँ पहिरो जाने गरेको छ । २० वैशाख यता करिब एक दर्जन भन्दा बढी पहिरो भीमफेदी–कुलेखानी सडक खण्डमा खसेको छ ।

बागमती प्रदेशको मुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने यो मार्ग नै सबैभन्दा छोटो दुरीको हो । छोटोमार्ग हुँदै प्रदेशबासी, प्रदेशका मन्त्रीदेखि सांसदहरु नियमित आवतजावत गर्छन् ।

Featured