देश

पोखराको सराङकोट र हेम्जामा पहिरो : ६ को मृत्यु, ११ जना घाइते

पोखरा, २६ असार -२ दिनदेखिको लगातार वर्षाका कारण आएको पहिरोले गएराति पोखराका विभिन्न स्थानमा ६ जनाको जनाको मृत्यु भएको छ । वर्षापछि आएको पहिरोले घर पुरिँदा अन्य ११ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५ जनाको मृत्यु भएको छ । थापासँगै उनकी श्रीमती र ३ जना नातीनातिनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनामा परी घाइते भएका अन्य ५ जनाको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल अस्पतालमा लगिएको उनले बताए । प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । २ जना भने पहिरो आएको थाहा पाएपछि जोगिएका छन् ।

त्यस्तै, पोखरा महानगरपालिका-२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिराले पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरूको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको हमालले जानकारी दिए ।

त्यस्तै, पोखरा-५ मालेपाटमा पनि २ जना घाइते भएका छन् । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको थियो ।

Featured