देश राजनीति

जसपा दर्ता भएपछि निर्वाचन आयोगले राजपत्र प्रकाशित गर्दै

काठमाडौं, २५ असार-जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचन आयोगमा दल दर्ता भएपछि निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गर्ने भएको छ । बुधबार बसेको आयोग पदाधिकारी बैठकले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण गरी जनता समाजवादी पार्टी बनाउन दिएको निवेदनउपर छानबिन गरी दल दर्ता गराएको हो ।

गत १० वैशाखमा दुई पार्टी एकीकरण गर्ने सहमतिको जानकारी गराएका दुवै पार्टीले गत २५ जेठमा एकीकरण भई पार्टीको दल दर्ता गर्न निवेदन दिएको थियो । आयोगले झन्डै १ महिना छानबिन गरेपछि बुधबार दल दर्ता गराउने निर्णय लिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘बुधबार बसेको आयोगको बैठकले एकीकृत पार्टी दर्ता गराउने निर्णय गरेको छ,’ श्रेष्ठले भने, ‘अब राजपत्रमा सूचना प्रकाशन गर्ने र संघीय संसद सचिवालयमा पार्टी एकीकरण भएको जानकारी पठाउँछौं ।’ उनका अनुसार दुवै पार्टी एकीकरण भई जसपा बनेको प्रमाणपत्र आयोगले उपलब्ध गराउँदै छ ।

केपी ओली सरकारले पार्टी विभाजन खुकुलो पार्ने गरी अध्यादेश ल्याएपछि दुई तराई मधेस केन्द्रित दल राजपा नेपाल र समाजवादी पार्टीले रातारात पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार गत २५ जेठमा दल दर्ताका लागि निवेदन दिएका हुन् । एकीकरण गरी दल दर्ता गर्ने निर्णय आयोगले गरेको छ, उनीहरूलाई प्रमाणपत्र दिने र राजपत्रमा सूचना निकाल्ने  आयोगले बताएको छ ।

Featured