देश

नक्सा र निशान छाप संशोधनको विरोधमा भारतको कूटनीतिक नोट

काठमाडौं, २५ असार-नेपालले प्रकाशित गरेको नेपालको नयाँ नक्सा र निशान छाप संशाेधनप्रति असन्तुष्टि जनाउँदै भारतले ‘कूटनीतिक नोट’ पठाएको छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै गत ३१ जेठमा निशान छाप संशाेधन गरेको थियो ।

राष्ट्रियसभाअन्तर्गतकाे प्रत्यायाेजित व्यवस्थापन तथा आश्वासन समितिको बैठकमा सभापति रामनारायण बिडारीले भारतको ‘कूटनीतिक नोट’ पठाएको जानकारी गराएका हुन् । ‘गत १० असार मा भारतले नयाँ नक्सा र निशान छापका बारेमा कूटनीतिक नोट पठाएको छ,’ बिडारीले बैठकमा जानकारी गराउँदै भने ।

सो संशाेधन गरेको झन्डै १० दिनपछि भारत सरकारले नेपाललाई कूटनीतिक नोट पठाएर असहमति जनाएको पहिलो पटक हो । नेपालले सो भूमि समेटेर चीन–भारतबीच सम्झौता भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरकारले पहिलो पटक सन २०१५ मा पहिलो कूटनीतिक नोट पठाउँदै सो भूमि नेपालको भएको जानकारी गराएको थियो ।

चीन र भारत दुवैलाई कूटनीतिक नोट पठाएर भूमि आफ्नो भएको दाबी गरे पनि दुई महिनाअघि सो भूमिमा भारतले बनाएको सडक उद्घाटन गरेपछि नेपालले पुनः कूटनीतिक नोट पठाएको थियो ।

गत ५ अगस्टमा जम्मु काश्मिरलाई प्राप्त विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० अन्त्य गर्दै नोभेम्बरमा जारी गरेको नयाँ नक्सामा भारतले नेपाली भूमि समेटेको थियो ।

त्यसको देशव्यापी विरोध भएपछि सरकारले पटक–पटक ‘कूटनीतिक नोट’ पठाएर आपत्ति जनाएको थियो । तर, त्यसको सुनवाइ नभएपछि सरकारले सो भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्नेदेखि निशान छाप संशाेधनसम्म काम सम्पन्न गरेको छ । सो काम सम्पन्न भएपछि भारतले १० दिनपछि कूटनीतिक नोट पठाएको हो ।

Featured