देश

बाह्रबिसे पहिरो अपडेट : सातदिने शिशुसहित ५ घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

सिन्धुपाल्चोक, २५ असार-सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५, जम्बु र भोटेकोशी गाउँपालिका-५, बुलकोटेमा गएरातिको बाढीपहिराेले घाइते ५ सहित सातदिने शिशुलाई हेलिकोप्टरमार्फत उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ ।

घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र  १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ । घाइतेलाई एयर डाइनेस्टी र माउण्टेन एयरको हेलिकोप्टरद्वारा राजधानी पठाइएका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यसैबीच, बेपत्ता २० जनाको पहिचान खुलेको छ । तिनमा जम्बुका भीमबहादुर वाइबा, चीनमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर थिङ, सबिना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोसी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी छन् ।

त्यसैगरी, बुलकोटेका नीमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन् । बाढीले बस, ट्याङ्कर, ट्रक र कारसमेत बगाएको छ । दुवै ठाउँमा गरी ३६ घरटहरा बगेका छन् । भोटेकोसीले बाह्रबिसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करिब ३०० मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।  – रासस

Featured