देश

यी मापदण्ड पालनापछि मात्रै चल्न पाउँछन् सार्वजनिक यातायात

काठमाडौं, २५ असार-लकडाउनका कारण ११ चैतदेखि बन्द रहेका सार्वजनिक सवारीसाधन आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण बन्द रहेका सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय सरकराले गरेको हो ।

कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दूरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन् ।

अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका प्रवक्ता खतिवडाले एक पङ्क्तिको १ सिटमा १ जना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने बताए । सवारी, चालक र सहचालकले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचालकले मास्कसँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक नि:संक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने उनले बताए ।

सार्वजनिक यातायातले यो मापदण्ड लागू हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । ट्याक्सी सेवा पनि सञ्चालनमा आएका छन् । यसअघि चालकबाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जनाबाहेक १ परिवारका ५ वर्षमुनिका अरू सदस्यहरूसमेत ट्याक्सीमा सवार हुन पाउनेछन् । भाडादर भने पुरानै कायम छ । ट्याक्सीहरू तत्कालैबाट सञ्चालन भए पनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रबन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने उनले बताए ।

Featured