देश

मकवानपुरका प्रहरी निरीक्षक रायविरुद्ध विशेष अदालतमा मुद्दा

Commission for Investigative of Abuse of Authority PHOTO:KIRAN PANDAY

हेटौँडा, २४ असार-भीमफेदीको इलाका प्रहरी कार्यालयमा कार्यरत् प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम बालक रायविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक पदमा रहेर भ्रष्टाचार गरेको दाबीसहित आयोगले रायमाथि १२ हजार रुपैयाँ बिगो कायम गरी बुधबार अदालतमा मुद्दा दायर गरेको हो । इन्स्पेक्टर रायले निर्माण सामग्री ढुवानी गर्ने सवारीलाई रोकेर बारम्बार पैसा मागेको उजुरीमाथि छानबिन गर्दा उनले भ्रष्टाचार गरेको पाइएको अख्तियारको दाबी छ ।

रायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिमाना र कैद सजायसँगै घूस लिएको रकम जफतको माग गरी विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

रायलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले ६ असारमा भीमफेदी गाउँपालिका–६ स्थित सगरमाथा होटलबाट निर्माण व्यवसायीसँग घूस लिँदालिँदै रंगेहात पक्राउ गरेको थियो । निलम्बनमा परेका रायलाई प्रदेश प्रहरी कार्यालयले अख्तियारमा बुझाएको हो ।

Featured