देश

बाँकेको किरणनालामा ट्रस पुल निर्माण

बाँके, २४ असार -बाँकेको खजुरा गाउँपालिका वडा ४ स्थित किरणनालामा ट्रस पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।खजुराबजारबाट सिर्जना टोल र डिगाउँ जाने मुख्य सडकमा जीर्णावस्थामा रहेको काठको पुललाई हटाएर २२ मिटर लम्बाइ र २ मिटर ३० सेन्टिमिटर चौडाइ रहेको फलामे ट्रस पुल  १६ लाख रुपैयाँमा  निर्माण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷०७७ मा वडा कार्यालयले उक्त पुलका लागि बजेट विनियोजन गरेको थियो । पुल निर्माण भएपछि सिर्जना टोल र डिगाउँसँगै जानकी गाउँपालिकाको बेलनियासँग जोडिएका केही टोल र गाउँका बासिन्दालाई आवतजावत गर्न र हल्का सवारी साधन चलाउन सहज भएको  वडाध्यक्ष तिलकवीर सुनारले बताए । उनका अनुसार पुल निर्माण भएपछि त्यस क्षेत्रका करीब २ हजार ५ सय जनसङ्ख्या लाभान्वित हुने भएको छ ।

जोखिमपूर्णावस्थामा रहेको काठको पुल जुनसुकै बेला पनि भत्किने अवस्थामा पुगेको थियो । वर्षौंँ काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि  सो पुल वरदान बनेको त्यहाँका स्थानीय अगुवाको प्रतिक्रिया छ । स्थानीयवासी चन्द्रकेशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । रासस

Featured