देश

पूर्णता नपाउँदासम्म थारू आयोगका क्रियाकलापले गति लिन नसक्ने

काठमाडौं, २३ असार-थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगले पूर्णता नपाउँदासम्म आयोगका क्रियाकलापलाई गति दिन नसकिने बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा सरकारले थारू आयोगलाई पूर्णता नदिएकाले आयोगका क्रियाकलापलाई गति दिन नसकिएको बताए । उनले आयोगका सदस्यहरुको नियुक्ती नहुँदासम्म कुनै पनि क्रियाकलापलाई गति दिन नसकिने स्पस्ट पारे ।

थारू आयोगले गर्ने कार्यको पहिचान भइसकेको तर सदस्यहरुको नियुक्ती नहुँदा काम गर्न समस्या परेको गुनासो गरे । उनले थारू आयोगको इतिहास अध्ययन गर्ने कार्य महत्वपूर्ण भएकाले अहिले त्यसतर्फ ध्यान दिइएको बताए । अबको १० वर्षभित्रमा थारू संस्कृतिको अध्ययन नगरी संरक्षण नगरे सबै संस्कृति लोप हुन सक्ने भएकाले आयोगको ध्यान त्यसतर्फ केन्द्रित भएको चाधरीले स्पस्ट पारे ।

उनले राज्यको नीति निर्माण तहमा आयोग रहे पनि समन्वय नगरी काम गरिएकाले थारूका समस्या समाधानका लागि ठोस कदम चाल्न नसकिएको बताए । उनले नीतिगत रूपमा स्पस्ट हुन नसक्दा कमलरी, कमैयालगायतका समस्याको समाधान अझै पनि हुन नसकेको बताए । सरकारले कमैयामुक्तीको घोषणा गरेको तर व्यवस्थापनमा ध्यान नदिएका कारण समस्या कायमै रहेको समेत बताए ।

Featured