देश

बाढीले डाइभर्सन बगाएपछी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी, भदौ २–पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका पछि अवरुद्ध रहेको महेन्द्र राजमार्गमा १६ घण्टादेखि यातायात आवतजावत ठप्प भएको छ।

राजमार्ग ठप्प हुँदा महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौ यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमको जंगलमा अलपत्र अबस्थामा रहेका छन्। आइतबार साँझ ५ बजेपछि लगातारको वर्षात्का कारण अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो।

पुलमा क्षति भएपछि राजमार्ग खुलाउन बनाइएको अस्थायी डाइभर्सन सडक खण्ड बाढीले बगाएका कारण महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका यात्रु अरुणखोलमा अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ।

बाढीले ह्युमपाइपमाथि राखिएको ग्राभेल बगाउँदा यातायात ठप्प भएको हो।पानीको सतह पूरै घटेपछि अवस्था हेरेर यातायात खुलाउन पहल गर्ने डिभिजन सडक कार्यलय बुटवलले जनाएको छ। ६ दिनअघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाँचिएपछि ३ दिनमा वैकल्पिक सडक बनाएर आवागमन खुलाइएको थियो।

Featured