देश

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपा १२५ नेताद्वारा हस्ताक्षर

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय २५ जना भन्दा बढी केन्द्रीय नेताले हस्ताक्षर संकलन गरेका छन् ।

केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर संकलन केन्द्रीय समिति बैठक माग गर्न आवश्यक एक तिहाई मत संकलन गर्ने प्रयासस्वरुप सो संख्या बराबर हस्ताक्षर संकलन भएको हो ।

‘अहिलेसम्म १ सय २५ भन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भईसकेको छ,’ गैरेले शिलापत्रसँग भने, ‘बाँकी प्रदेश–प्रदेशमा हस्ताक्षर संकलन गरेर केन्द्रीय समिति बोलाउन आवश्यक संख्या जुटाउँदै छौं ।’

उनका अनुसार ७ वटा प्रदेशमा अहिले थप हस्ताक्षर संकलन भईरहेको छ । अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपालले समूहबीच तीव्र विवाद   चलिरहेको बेला हस्ताक्षर संकलन गरिएको हो ।

‘पार्टी भित्रको विवाद सचिवालय र स्थायी समितिले गर्न नसकेपछि सो विवादको समाधान खोज्न केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हौं, यसमा धेरै साथी उत्साहित भएर हस्ताक्षर गरिरहनु भएको छ,’ केन्द्रीय सदस्य गैरेले भने ।

पार्टी र सरकार चलाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली असफल भएको भन्दै प्रचण्ड–नेपाल समूहले राजीनामा माग गरिरहेका छन् ।

पार्टी विभाजनसम्मको गहिराईमा विवाद पुगेपछि केन्द्रीय सदस्यहरु जुर्मराएका हुन्, उनीहरुले पार्टी विवाद मिलाउन धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा धर्नासमेत दिएका छन् ।

Featured