देश राजनीति

ओलीसँग भेट्नुअघि प्रचण्ड र नेपालबीच खुमलटारमा छलफल

काठमाडौं, २० असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने स्थायी कमिटी बैठकअघि पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

स्रोतका अनुसार उनीहरूबीच अहिले प्रचण्ड निवास खुमलटारमा छलफल भइरहेको हाे । छलफलमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि सहभागी छन् । उनीहरूबीचको छलफल सकिए लगत्तै प्रचण्ड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न वालुवाटार आउने बताइएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड, नेपाल, वामदेव गौतमसहित केही स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि अहिले नेकपाभित्रको विवाद उत्कृर्षमा पुगेको छ ।

विवाद समाधानका लागि शुक्रबार वालुवाटरमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएपनि निष्कर्श आउन सकेन । आज हुने दुबै अध्यक्षबीचको छलफल निर्णायक हुने अनुमान गरिएको छ ।

उनीहरूबीचको छलफल लगत्तै ११ बजे वालुवाटरमै स्थायी कमिटी बैठक बस्ने तालिका रहेको छ । बैठकमा भारतसँगको सीमा विवाद, कोडिभ-१९ नियन्त्रण, एमसीसी लगायत विषयमा छलफल गर्ने कार्यसूची रहे पनि पार्टीको आन्तरिक विवादले यी विषयमा पर्याप्त छलफल भएको छैन ।

Featured