देश

कोभिड-१९ का नाममा भएका खर्चको अलग्गै लेखा परीक्षण हुने

काठमाडौं, १६ असार-महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको खर्च, जुटेको सहयोग लगायतका विषयमा कार्यालयले अलग्गै लेखा परीक्षण गर्ने भएको हो ।

महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक वर्ष सकिएपछि कोभिड—१९ नियन्त्रणका लागि भएको खर्च र भएको आम्दानी कोरोबार समेतको विशेष लेखा परीक्षण गरिने बताए । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा उनले अहिलेको अवस्थामा कर्मचारीलाई फिल्डमै खटाएर काम गर्न सक्ने अवस्था नरहेको समेत बताए ।

महालेखा नियन्त्रकको कार्यालयले राजनीतिक र प्रशासकीय तहको प्रतिवद्धता नहुँदा दिगो विकास र वित्तिय सुशासनमा समस्या देखिएको बताएको छ । महालेखा नियन्त्रक गोपीनाथ मैनालीले नागरिक बजेटको अवधारणा अनुसार पारदर्शीता नहुदा समेत समस्या भएको बताए ।

दिगो विकास तथा सुशासन समितिको बैठकमा मैनालीले एकीकृत रूपमा ३ तहको वित्तिय विवरण तयार गर्न समस्या, स्वचालित वित्तिय व्यवस्थापन प्रणाली कार्यान्वयनको चुनौतीका कारण दिगो विकास र वित्तीय सुशासनमा समस्या देखिएको बताए । स्थानीय तह तथा प्रदेशमा लेखा व्यवस्थापनका लागि जनशक्ति विकास र पुनर्ताजकी गर्ने चुनौतीका कारण समस्या देखिएको उनले बताए ।

Featured