खेलकुद देश

एसियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाल आज किर्गिस्तानसँग भिड्दै

काठमाडौं, एजेन्सी,भदौ २-एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता आज (सोमबार) देखि ललितपुरमा सुरु हुँदैछ। प्रतियोगितको उद्घाटन खेलमा नेपालले बलियो टोली किर्गिस्तानको समना गर्दैछ। लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपाल र किर्गिस्तानबीचको खेल अपरान्ह ४ः०० बजे हुनेछ। यसअघि आजै बिहान १०ः०० बजे तुर्कमिनिस्तान र अफगानिस्तानबीच पहिलो खेल हुनेछ।

शारिरिक रुपमा अग्लो किर्गिस्तान यस प्रतियोगिताको बलियो टोली हो। कीर्तिस्तानलाई हराउन सके नेपाल सेमिफाइनलमा पुग्नेछ। प्रतियोगितामा नेपाल समुह ‘ए’ मा छ। यस समूहमा नेपाल सहित किर्गिस्तान र माल्दिभ्स छ। च्याम्पियनसिप अघि नेपालले अफगानिस्तानसँग खेलेको दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले दुवै खेलमा कठिन जित निकालेको थियो। नेदरल्यान्ड्का प्रशिक्षक हान एविङको प्रशिक्षणमा रहेको नेपाली टोलीको लक्ष्य यस प्रतियोगिताको फाइनलमा पुग्ने रहेको छ।

नेपाली टोली दुई महिनादेखि प्रशिक्षक हानको प्रशिक्षणमा छ। तर, टोलीको समस्य सर्भिस, रिसिभ र ब्लकमा छ। इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा अहिले युवा खेलाडीको बर्चस्व रहेको छ।

यसअघि नेपालको पुरुष टोलीले २०७३ सालमा माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा कांस्य जितेको थियो। नेपालले ४१ वर्षपछि जितेको यो ऐतिहासिक पदक थियो। जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघबाट मान्यताप्राप्त प्रतियोगितामा जितेको पहिलो पदक पनि हो।

यसैगरी च्याम्पियनसिपमा समूह ‘बी’ मा साविकको विजेता तुर्कमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन्। लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ ७ गते हुनेछ।

Featured