देश राजनीति

कांग्रेसले सदन अवरुद्ध गरेपछि मन्त्रीले स्वीकारे गल्ती

हेटौंडा, १५ असार-प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीले गल्ती गरेको भन्दै बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयक प्रस्तुत गरेको ४ दिनपछि बजेटको क्षेत्रगत बाँडफाँड (रातो किताब) सांसदलाई उपलब्ध गराएको भन्दै सदन अवरुद्ध गरेको हो । कांग्रेसले कोरोना कोषबाट भएको खर्च सार्वजनिक नगरेको भन्दै सदनमै चर्को आवाज उठाएको थियो । कांग्रेस सदन अवरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए ।

कांग्रेसले सदन अवरुद्ध गरेपछि जवाफ दिने क्रममा मन्त्री ढुङ्गेलले कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । कांग्रेसले मन्त्री ढुङ्गेलबाट गल्ती नदोहोर्‍याउन प्रतिबद्धता सदनमै राख्नुपर्ने अडान लिएको थियो । मन्त्रीको जवाफ चित्त बुझ्दो नआएकोभन्दै कांग्रेसले पुनः सदन अवरुद्ध गरेको थियो ।

कांग्रेसको अवरोधकाबीच सभामुख श्रेष्ठले पुनः प्रतिबद्धतासहित आफ्नो भनाइ राख्न मन्त्रीलाई निर्देशन दिएका थिए । सोही क्रममा मन्त्री ढुङ्गेले आगामी दिनमा यस्ता कमिकमजोरीलाई नदोहोर्‍याउने प्रतिबद्धता जनाएपश्चात् सदन सुचारु भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मन्त्री ढुंगेलले संसद र सभामुखलाई ढाँटेको आरोप लगाएका थिए ।

कांग्रेसले प्रदेशको नीति तथा योजना आयोग खारेजीको समेत माग कांग्रेसले गरेको छ । ‘सरकारका योजनाहरू सीधै मन्त्रालयबाट आएको छ । योजना आयोग केको लागि हो । त्यसैले खारेज गरिनुपर्छ’, प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले भने । सांसद बानियाँले मन्त्रालयले कोरोनाको शीर्षकमा गरेको खर्च सुहाउँदो नभएको टिप्पणी गरे ।

यसैबीच बागमती प्रदेशसभाबाट अन्तरप्रदेश बासिन्दाको समान, सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट पनि पारित भएको छ । उक्त विधेयक प्रदेश मामिला समितिको बैठकबाट सर्वसम्मतरूपमा पारित भएर आएको थियो ।

Featured