देश

फ्रन्टलाइनका ६८ प्रहरी र सशस्त्र प्रहरीका ३७ जनामा कोरोना पुष्टि

काठमाडौं, १४ असार-विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी आफैँ संक्रमित हुने क्रम बढेको छ । हालसम्म नेपाल प्रहरीमा ६८ जना र सशस्त्र प्रहरी बलका ३७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार २२ जिल्लामा गरी ६८ जना प्रहरीमा कोरोना देखिएको छ । प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुसार सबैधन्दा बढी संक्रमित हुनेमा धनुषा र दैलेखका प्रहरी छन् ।

धनुषामा १० जना र दैलेखमा ९ जना प्रहरीमा कोरोना पुष्टि भएको डीआईजी शाहीले बताए । उनका अनुसार ६८ जना प्रहरीमध्ये ४ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी नायव निरीक्षक र ६ जना सहायक निरीक्षक छन् ।

६८ जना संक्रमितमध्ये ४१ निको भएर घर फर्किसकेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ । यसरी नै सशस्त्र प्रहरीमा पनि ३७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । उनीहरूमध्ये अधिकांश निको भएर घर फर्किसकेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नेपाली सेनाको केही दिनअघिको तथ्याङ्कअनुसार ६ जनामा कोरोना पुष्टि भएको थियो । फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीमै कोरोना पुष्टि हुन थालेपछि ३ वटै निकायले बिदाबाट हाजिर हुने सुरक्षाकर्मीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाएको छ ।

आइतबारको तथ्याङ्कअनुसार नेपालमा १२ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ । त्यसरी नै कोरोनाका कारण २८ जनाको ज्यान गएको छ ।

Featured