सुर्खेत, १४ असार-कर्णाली प्रदेशका २ सय १४ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । जसमा दैलेखका मात्रै २ सय ५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरूमा २ सय १ पुरुष र १३ महिला रहेका छन् ।
सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट ३ महिला र १ सय २९ पुरुष गरी १ सय ३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट २ महिला ७ पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट १ महिला, ७ पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट १/१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।
उनका अनुसार शनिबार २ सय १४ ले कोरोना निकोभएसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९ सय ३४ पुगेको छ ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पीसीआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित ७ जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा. तिवारीले कर्णालीमा कोरोना सङ्क्रमितको संख्या १ हजार ४ सय ४० पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस